अमेरिकाको सनफ्रान्सिस्कोस्थित सुरक्षा कम्पनी क्वान्ट स्ट्याम्पका मुख्य कार्यकारी रिचर्ड मा ले सन् २०१९ को सुरुवातमा आफ्नी पत्नीका लागि एउटा पहिरन तयार गरे । त्यसमा उनले ९ हजार ५ सय अमेरिकी डलर अर्थात् १० लाख रुपैयाँ भन्दा धेरै खर्च गरे । रोचक कुरा त के भने जुन पहिरनका लागि उनले त्यति धेरै रकम खर्च गरे, त्यसलाई छोएर महसूस गर्नसम्म सकिँदैन । वास्तवमा त्यो एउटा भर्चुअल अर्थात् डिजिटल पहिरन हो ।
डिजिटल ड्रेस हुनुका बाबजुत फेसन हाउस द फेबि्रकेन्ट ले यो पहिरनको डिजाइन गरेको हो । जसमा रिचर्डकी पत्नी मेरी रेनको एउटा तस्वीर प्रस्तुत गरिएको छ, जसलाई सोसल मिडियामा पनि प्रयोग गर्न सकिन्छ । उक्त पहिरन महंगो भएपनि यो एक प्रकारको लगानी नै भएको मा बताउँछन् । आफु र आफ्नी पत्नीले सामान्यतया महंगा कपडा नकिन्ने भएपनि डिजिटल पहिरनको दीर्घकालीन मूल्य भएको हुँदा आफुले साढे ९ हजार डलर खर्च गर्न तयार भएको उनले बताए ।
आगामी १० वर्षभित्रमा सबैजसो मानिसले डिजिटल फेसन पहिरिने र त्यो अद्वितीय रुपमा सम्झनलायक हुने उनको विश्वास छ । रेनले आफ्नो फेसबुक पेज तथा विच्याटमा तस्वीर शेयर गरेकी छन् । डिजिटल ड्रेस डिजाइन गर्ने अर्को फेसन हाउस पनि छ, कार्लिंग्स । यो युरोपेली कम्पनीले गत वर्ष करीब ११ डलर मूल्य पर्ने डिजिटल स्टि्रटवेयर कलेक्सन तयार गरेको थियो । जुन एक महिनामै बिक्रि भएको थियो । कार्लिंग्स ब्राण्डका निर्देशकका अनुसार उत्पादकको सबै उत्पादन बिक्नु भनेको सैद्धान्तिक रुपमा असम्भव हो ।
डिजिटल कलेक्सनमा काम गर्दा आफुले चाहे जतिमात्र उत्पादन गर्न सकिन्छ र वास्तविक रुपमा असाधारण तथा असम्भव देखिने डिजाइन तयार पार्न सकिन्छ । द फेबि्रकेन्ट कम्पनीले हरेक महिना आफ्नो वेबसाइटमा नयाँ डिजिटल कपडाहरु निशुल्क उपलब्ध गराउँदछ । यद्यपि ग्राहकहरुलाई आफ्नो तस्वीरसँग डिजिटल पहिरन मिलाउनका लागि कौशल तथा सफ्टवेयरको आवश्यकता पर्दछ ।
द फेबि्रकेन्टका सहसस्थापक तथा डिजाइनर एम्बर जे स्लोटेनका अनुसार डिजिटल पहिरन खासगरी सिएलओ थ्री डी सफ्टवेयरको प्रयोग गर्ने उद्योगका पेशेवर व्यक्तिहरुले डाउनलोड गरिरहेका छन् । डिजिटल पहिरनलाई साढे ९ हजार डलर सम्म परेको खबर पछि मानिसहरु निकै उत्सुक भएको उनको भनाई छ ।
साभार : Online Khabar